प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, तीन नियुक्ति गरिँदै


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार अपरान्ह्र ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

हरेक हप्ताको सोमबार र बिहीबार बस्दै आएको मन्त्रिपरिषद् बैठकको यो नियमि प्रक्रिया भए पनि बालेन नेृतत्वको सरकारको दोस्रो बैठक हो । आजको मन्त्रिपरिषद् बैठकलाई लिएर चासो उत्पन्न भएको छ ।

आजको बैठकबाट तीन स्थानमा नियुक्तिको सम्भावना रहेको बताइन्छ । सरकारको प्रमुख कानुनी सल्लाहकारको रुपमा रहने महान्यायाधिवक्ता,योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकमा रिक्त डेपुटी गभर्नर नियुक्ति हुने सम्भावना बढी देखिन्छ ।

सरकारलाई कानुनी सल्लाह दिने प्रमुख व्यक्ति रिक्त रहेको, आगामी आर्थिक वर्षको बजेट तर्जुमालगायत विषय अघि बढाउनुपर्ने समयको बाध्यता र केन्द्रीय बैंकमा तीन सातादेखि रिक्त डेपुटी गभर्नरका कारण मौद्रिक र बैंकिङ क्षेत्रमा पर्न थालेको प्रभावलाई दृष्टिगत गर्दै यी नियुक्ति हुने सम्भावना रहेको स्रोतले बतायो ।

डेपुटी गभर्नर नियुक्तिको विषयमा आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र गभर्नर डा.विश्वराज पौडेलबीच दुई घन्टा छलफल भएको थियो । अर्थमन्त्री र गभर्नरकै सहमतिमा डेपुटी गभर्नर नियुक्त गरिन लागेको हो ।