सर्वोच्च अदालतले केपी ओलीको कारण देखाऊ आदेश जारी, तत्काल रिहा अस्वीकृत


काठमाडौं – सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण सरकारका तर्फबाट पेस गर्न आदेश जारी गरेको छ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश दिएको हो। ओलीकी पत्नी राधिका शाक्यले आफ्ना पति गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समयमा तत्कालीन प्रधानमन्त्रीको रूपमा गरिएको कामकारबाहीलाई लिएर उनीमाथि प्रश्न उठेको थियो।

जेनजी आन्दोलनको घटना छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो। यसै सिफारिसको आधारमा शनिबार बिहान ओली र लेखक पक्राउ परेका थिए।