काठमाडौं । एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ । जेनजी आन्दोलनका बेला दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि दोस्रो पटक सचिवालय बैठक बसेको हो ।
गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले विरोध कार्यक्रम तय गरेको थियो । आज पनि बादलकै अध्यक्षतामा बैठक बसेको छ । बैठकमा पार्टीका आगामी कार्यक्रमबारे छलफल हुने जानकारी एक नेताले दिए ।
एमालेले ओली रिहा गर्न गरेको सडक आन्दोलनका बारेमा आजको बैठकमा समीक्षा हुने बताइन्छ ।
जेनजी आन्दोलनको समयमा प्रधानमन्त्री रहेका ओली र गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले शनिबार बिहान उनीहरुकै घरबाट पक्राउ गरेको थियो। उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको थियो।
एमालेले पक्राउलाई गैरकानुनी र प्रतिशोधपूर्ण भन्दै आलोचना गर्दै आएको छ। अध्यक्ष ओलीको रिहाइ माग गर्दै पार्टीका जनसंगठनहरूले काठमाडौं उपत्यका र अन्य जिल्लाहरूमा विरोध प्रदर्शन पनि गर्दै आएका छन्। एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलसँग सम्वाद गर्ने तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ।












प्रतिक्रिया