ओली पक्राउको विरोधमा एमाले अब ‘वार कि पार’ को लडाइँमा, देशव्यापी आन्दोलन


काठमाडौं । पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

एमालेले चैत २४ गते सबै जिल्ला कमिटी वृहत् कार्यकर्ता भेला आयोजना गर्ने छ । पोखरेका अनुसार चैत २५ गते जिल्लाकेन्द्रीत प्रदर्शन तथा भेला आयोजना गरिँदैछ । चैत २८ गते पालिकामा, वैशाख ३ गते वडा तहमा र वैशाख ७ गते सातै प्रदेशका राजधानीमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको बताइन्छ ।

त्यस्तै, बैठकले सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिएको छ । संसदभित्र प्रतिनिधित्व गर्ने दलहरुसँग सहकार्य र संवादको लागि भने उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्यालले जिम्मेवारी पाएका छन् ।

यस्तो छ निर्णय

१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने।

२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।

३. वैशाख ३ गते वडा तहमा भेला गर्ने। ४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।

५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।

६. सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।

७. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी दिइयो।

८. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याल लाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।

९. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।