काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो । आजको बैठकमा गत शनिबार कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेका थिए । अनुशासन समितिको बैठकमा यो विषयका साथै फागुनको आमनिर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गर्ने, असहयोग गर्ने, अर्को दलका उम्मेदवारको पक्षमा भोट माग्ने नेता कार्यकर्तामाथि कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ ।
विशेष महाधिवेशनबाट कांग्रेस सभापति गगन थापा चुनिएको र त्यसलाई निर्वाचन आयोगले समेत मान्यता दिइसकेको अवस्थामा देउवा समूहका खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेपछि उनको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा समेत छलफल हुने बताइएको छ ।
खड्काले मंगलबार १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए । शेखर कोइराला र शशांक कोइरालालाई दायाँवायाँ राखेर कार्यक्रम गरेपछि कांग्रेस संस्थापन पक्ष रुष्ट छ । खड्काले चैत १९ गते जिल्ला सभापतिको भेला समेत बोलाएका छन् । यसै सन्दर्भमा निर्णय लिन कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो । एकपछि अर्को समानान्तर गतिविधि गरेपछि त्यस्ता नेताको क्रियाशील सदस्यता स्थगन गर्ने तयारी छ ।












प्रतिक्रिया