आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म लालीबजार को नयाँ पोस्टर सार्वजनिक भएको छ, जसमा अभिनेत्री स्वस्तिमा खड्का र डेब्यु अभिनेता विशाल देवकोटा जोडीको रूपमा प्रस्तुत भएका छन्।
नाटकबाट फिल्म क्षेत्रमा प्रवेश गरेका विशाल देवकोटाले अडिसनमार्फत यो अवसर पाएका हुन्। रंगमञ्चमा उनको अभिनय कौशल देखेर नै फिल्म टिम प्रभावित भएको बताइएको छ। विशेषगरी कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा उनको प्रस्तुति हेरेपछि निर्देशक प्रदीप भट्टराई लगायत टिमले उनलाई अडिसनका लागि बोलाएको थियो।
सानैदेखि कलाकार बन्ने सपना बोकेका देवकोटाले नाटकमार्फत अनुभव बटुलेपछि फिल्ममा पाइला राखेका हुन्। उनले रंगमञ्च र फिल्म अभिनयबीचको फरकबारे बोल्दै नाटकमा पात्रलाई एकैपटक जिउन पाइने तर फिल्ममा दृश्य–दृश्यमा टुक्रिएर अभिनय गर्नुपर्ने अनुभव सुनाए।
निर्देशक यम थापा को कथा तथा निर्देशनमा बनेको यो फिल्म समाजको यथार्थमा आधारित रहेको बताइएको छ। फिल्मलाई पारिवारिक रूपमा हेर्न मिल्ने, नयाँ कथावस्तु भएको मनोरञ्जनात्मक प्रस्तुति भनेर निर्माण पक्षले दाबी गरेको छ।
फिल्मको गीत मायालाई के दिउँ म बैना दर्शकमाझ निकै लोकप्रिय बनेको छ, जसले ८० लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ र टिकटक, रील्स तथा युट्युब सट्समा ट्रेन्ड भइरहेको छ।
यस फिल्ममा स्वस्तिमा खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे लगायत कलाकारहरूको अभिनय रहेको छ। साथै, यही फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन्।
बर्दियाको राजापुरमा छायांकन गरिएको यो फिल्म दर्शकका लागि नयाँ स्वादको कथा लिएर आउँदैछ।












प्रतिक्रिया