बालेन प्रधानमन्त्री बनेपछि अमेरिकाले नेपाललाई राख्यो लेभल २ मा


काठमाडौं । बालेन्द्र शाह बालेन प्रधानमन्त्री बनेपछि अमेरिकाले नेपालको सुरक्षा अवस्थामा सुधार आएको भन्दै यात्रा जोखिम स्तर घटाएको छ । अमेरिकाले अहिले नेपाललाई लेभल २ मा राखेको छ ।

अमेरिकी दूतावासले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ। दूतावासले नेपाललाई लेभल २ मा राख्दै भ्रमणका क्रममा थप सतर्कता अपनाउन आग्रह गरेको हो।

दूतावासले ३१ मार्चमा जारी गरेको सूचनाअनुसार नागरिक उथलपुथलका कारण सतर्क रहन भनिएको छ। सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएको देशव्यापी प्रदर्शन रोकिएको र सुरक्षा स्थिति स्थिर भए पनि केही सहरमा अझै स्थानीय अशान्ति हुन सक्ने दूतावासले जनाएको छ।

सूचनामा प्रदर्शनहरू कुनै पनि बेला हिंसात्मक हुन सक्ने चेतावनी दिइएको छ। त्यसैले अमेरिकी नागरिकलाई ठूलो भीडभाडबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न भनिएको छ। नेपालमा भूकम्प, बाढी र पहिरोको जोखिम रहेकोसमेत उल्लेख छ। विशेष गरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन समयमा भारी वर्षाका कारण सडक अवरुद्ध हुन सक्नेतर्फ सचेत गराइएको छ।

स्वास्थ्य सेवाका सन्दर्भमा काठमाडौँका अस्पतालहरू तुलनात्मक रूपमा राम्रो भए पनि भीडभाड हुने र उपचारअघि नै पैसा तिर्नुपर्ने अवस्था रहेको दूतावासले उल्लेख गरेको छ। गम्भीर उपचारका लागि अर्को देश जानुपर्ने हुन सक्ने भएकाले मेडिकल इभ्याकुएसन सहितको ट्राभल इन्स्योरेन्स अनिवार्य गर्न सुझाव दिइएको छ।

दूतावासले नेपाल भ्रमणमा रहेका वा आउन चाहने नागरिकलाईुस्मार्ट ट्राभलर एनरोलमेन्ट प्रोग्राममा सहभागी हुन र स्थानीय सञ्चारमाध्यममार्फत जानकारी लिइरहन आग्रह गरेको छ।