मतादेशको ऋण तिर्ने भन्दै राजनीतिक नियुक्ति खाएकालाई पद छाड्न रविको आग्रह


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई दिएको मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्ने बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोहीअनुसार काम सुरु गरिसकेको बताए ।

‘हामी प्रश्न गरेर यो ठाउँमा आएका हौँ । हामीले बोलेर होइन कामबाट आफूलाई प्रमाणित गर्नुपर्छ । हामी विगतका कमजोरीबाट पाठ सिक्नेछौँ’, उनले भने, ‘यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको थलो होइन । प्रतिपक्षलाई अन्यायपूर्वक प्रतिशोध र अत्याचार हुनेछैन, तर सुशासनको बेग पनि रोकिनेछैन । रास्वपाका हरेकले बोलेर होइन, कामबाट आफूलाई प्रमाणि गर्नुपर्नेछ ।

आफ्नालाई बचाउन र अरुलाई फसाउन कानुन नै संशोधन हुने क्रम अब नहुने जिकिर गर्दै उनले सहिदको आमाको न्याय पाउने पहिलो हक भएकाले त्यसलाई प्रतिशोध भन्न नपाइने बताउनुभयो । सभापति लामिछानेले बिचौलिया र माफियाले थिचिएको निजी क्षेत्रलाई अब त्यस्तो दबाब नपर्ने भन्दै समान अवसर र व्यावसायिक वातावरण सरकारले मिलाउने प्रतिबद्धता व्यक्त गरे ।

विगतमा राजनीतिक नियुक्ति लिएकालाई स्वेच्छिक रूपमा मार्गप्रशस्त गर्ने अपेक्षा गर्दै उनले नयाँ नियुक्तिमा विधि र योग्यताको मापदण्ड पालना हुने स्पष्ट गरे । लामिछानेले राजदूतको नियुक्ति बिचौलियाको प्रभावमा नभई श्रमिकको हितकेन्द्रित हुने पनि बताए ।

‘सरकार नयाँ, नीति, कानून, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागु गर्न चाहान्छ । हिजो नियुक्ति लिएका सार्वजनिक निकायका पदाधिकारीहरुले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु,’ उनले भने । उनले न्याय पाउने पहिलो अधिकार जेनजीकी आमालाई भएको भन्दै त्यसलाई प्रतिशोध नभन्न प्रतिपक्षी दलहरुलाई आग्रह गरे ।