प्रतिनिधिसभाको पहिलो बैठकमै ओली र लेखकलाई रिहाइ गर्न एमालेको माग


काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, कांग्रेस तथा एमालेका शीर्ष नेतालगायत नवनिर्वाचित सांसद सहभागी छन् ।।
प्रतिनिधिसभाको पहिलो बैठकमै एमालेले पार्टी अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखक पक्राउको विरोध गरेको छ । सांसद नै सडकमा उत्रिएका बेला लाठी प्रहार गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ । एमालेका नेता गुरु बरालले बैठकको सुरुमै बोल्न समय मागेका थिए ।

सभाध्यक्ष अर्जुननरसिंह केसीले अनुरोध गर्दा पनि नबसेपछि दुई मिनेट समय दिएका थिए । बरालले नागरिकको मौलिक हक हनन् भएको बताउँदै भने– ‘केपी ओली र रमेश लेखकलाई आजै रिहा गरियोस् ।

बैठकमा तीन अध्यादेश पेस हुने सम्भावित कार्यसूची छ । गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन० अध्यादेश २०८२’ पेस गर्नेछन् ।

सभाका ज्येष्ठ सदस्य÷सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।

सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनय गर्नुहुने सम्भावित कार्यसूचीमा उल्लेख छ । बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आआफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको छ ।

सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नेछन् ।