शिक्षा प्राप्तिको पारिवारिक सङ्घर्षमा आधारित ‘रोल नं १’ को पोस्टर सार्वजनिक, गणतन्त्र दिवसमा हलमा प्रदर्शन


काठमाडौं – आगामी जेठ १५ गते देशभर प्रदर्शन हुन लागिरहेको चलचित्र रोल नं १को पहिलो झलक सार्वजनिक भएको छ। सार्वजनिक दुई पोस्टरले चलचित्रका पात्र र ग्रामीण जनताको शिक्षासम्बन्धी संघर्षलाई प्रस्ट प्रस्तुत गरेका छन्।

पोस्टरमा बाल–कलाकार निर्भिक रेग्मी, मुख्य अभिनेता मुकुन भुसाल र अभिनेत्री रेणु योगी ग्रामीण परिवेशमा देखिएका छन्, जहाँ बालकको मुस्कान र बुबाको थकित अनुहारले शिक्षा हासिल गर्न अभिभावकले गर्ने त्याग झल्काउँछ। चलचित्रको ट्यागलाइन ‘हरेक विद्यार्थीको कथा’ले विद्यार्थी जीवन र शैक्षिक सपना केन्द्रमा रहेको स्पष्ट पार्छ।

चलचित्र जोन योञ्जनको निर्देशनमा बनेको छ। मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी रहेका छन्। बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।

निर्मातामा विनोद पौडेल र जान्वी पौडेल रहेका छन्। छायांकन हिमाली जिल्ला म्याग्दीका रमणीय ग्रामीण भेगहरूमा भएको हो र डीओपी शिव राम श्रेष्ठ रहेका छन्। चलचित्रको संगीत प्रशान्त शिवाकोटी, सम्पादन मदन घिमिरे र प्रोडक्सन डिजाइन कला संग्रौलाले गरेका छन्।

चलचित्र नेपालसँगै विदेशमा पनि प्रदर्शन हुने तयारीमा छ र वितरण रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले गर्नेछन्।