बादलको बोलीले एमालेमा बबन्डर, शंकर पोखरेल निशानामा


काठमाडौं । एमाले कार्यबाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभाको पहिलो बैठकमा गरेको सम्बोधनलाई लिएर शुक्रबार दिउँसो १ बजे सचिवालयको आकस्मिक बैठक बोलाइएको छ ।

गत निर्वाचनमा रास्वपाले प्राप्त गरेको दुई तिहाइ विजयमा विभिन्न दृष्य, अदृष्य पक्ष जोडिएको भनेपछि पार्टीका नेताहरुले सामाजिक सञ्जालबाट तत्काल विरोध जनाएका छन् । बादलले नेपाली सेना, बारबरा फाउन्डेसन, निजामती कर्मचारीले सहयोग गरेकै कारण रास्वपाले निलो क्रान्ति सम्पन्न गरेको गम्भीर आक्षेप लगाएका थिए । यो अभिव्यक्तिको चौतर्फी आलोचना सुरु भएपछि र एमालेकै नेताहरूले पनि आपत्ति जनाएपछि आकस्मिक सचिवालय बैठक बोलाइएको हो ।

बादलले आफूले नेताहरुसँग सल्लाह गरेरै बोलेको जवाफ दिएका छन् । बादल निकटस्थ स्रोत भन्छ, ‘मैले लिखित बोलेको हुँ । जसले लिखित दिएको हो, त्यही पढेको हुँ । जे दिए त्यही बोलेँ, के बिराएँ ?’

बादलको भनाइमा आपत्ति जनाउनेमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई, सुरेन्द्र पाण्डे छन् । उपाध्यक्ष पौडेलले बादलको अभिव्यक्तिमाथि टिप्पणी गर्दै आज बस्ने एमालेको केन्द्रीय सचिवालय बैठकमा यसबारे गम्भीरतापूर्वक छलफल हुने बताएका छन्।

‘प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले को दल नेताको हैसियतले रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्। यस सम्बन्धमा आयोजना गरिएको केन्द्रीय सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु,’ पौडेलले भनेका छन्।

उपमहासचिव भट्टराईले पनि नेपाली सेनालगायत सुरक्षा अंगहरू, न्यायालयलगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति एमालेको कुनै वैरभाव नरहेको भन्दै घुमाउरो हिसाबले दल नेता बादलको भनाइप्रति असहमति जनाएका छन्। संसद वा सडक, सत्तापक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत् रहने उनले बताएका छन् ।

नेता सुरेन्द्र पाण्डेले बादलको विवादित अभिव्यक्तिप्रति लक्षित गर्दै दोष जति अरुलाई देखाउने राजनीति पुरानो भइसकेको टिप्पणी गरेका छन् । पछिल्लो राजनीतिक वातावरण सिर्जना हुनुमा एमाले पनि दोषी रहेको र एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यता जिम्मेवार रहेको उनको टिप्पणी छ ।

बादलको नाम नलिई उनले फेसबुकमा लेखेका छन्, ‘हिजो संसदमा षड्यन्त्रका लामा कथाहरू सुनियो । सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो– सबै दोष अरूलाई ? हामी पनि दोषी छौं– यो वातावरण सिर्जना गर्न, हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ?’ उनले घेराबन्दीमा प¥यौं भन्ने राष्ट्रवादी राजनीति निकै पुरानो भएको टिप्पणी गर्दै लेखेका छन्, ‘अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन् ।’

स्रोतका अनुसार बादललाई महासचिव शंकर पोखरेलले लिखित डकुमेन्ट दिएका थिए । त्यही लिखत बादलले बाचन गरेको बताइन्छ । बादल प्रकरणले महासचिव पोखरेल नै विवादमा तानिने भएका छन् ।