बलात्कारको आरोप लागेपछि सागर लम्सालको करिअर धरापमा, ‘पाँच पाण्डव’ बाट निकालिए


काठमाडौैं । बलात्कारको आरोप लागेपछि कलाकार सागर लम्साल बलेको करियर धरापमा परेको छ । एक युवतीले बलात्कारको आरोप लगाएको २४ घन्टा नबित्दै सागरलाई चलचित्र ‘पाँच पाण्डव’ बाट निकालिएको छ ।

हाल झापामा छायांकन भइरहेको चलचित्र ‘पाँच पाण्डव’को मुख्य कलाकारमध्ये सागर पनि एक थिए । उनीमाथि बलात्कारको आरोप लागेपछि निर्माण पक्षले अर्को कलाकार भित्र्याएर चलचित्र ‘रि–सुट’ गर्ने भएको छ ।

विज्ञप्तिअनुसार गत चैत २ गतेदेखि झापा आसपासमा चलचित्रको छायांकन भइरहेको थियो। सागर लम्सालको करिब ९० प्रतिशत दृश्य खिचिसकिएको अवस्थामा यो विवाद बाहिर आएको हो। निर्माण पक्षले अब लम्साल संलग्न रहेका कुनै पनि दृश्य चलचित्रमा समावेश नगर्ने र ती सबै दृश्य फेरि खिच्ने स्पष्ट पारेको छ।

चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार ९० प्रतिशत काम सकिएको कलाकारलाई हटाउँदा फिल्मलाई ठूलो आर्थिक क्षति हुनेछ। यद्यपि, पीडित युवतीको पीडाअघि यो आर्थिक क्षति सामान्य रहेको कम्पनीको ठहर छ।

वसन्त निरौलाको निर्देशनमा बनिरहेको यस चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठीलगायतका चलेका कलाकारहरूको मुख्य भूमिका छ। लम्सालको ठाउँमा अब कुन कलाकारलाई अनुबन्ध गरिन्छ भन्नेबारे निर्माण पक्षले केही खुलाएको छैन।

हास्य कलाकारिता तथा मोडलिङबाट उदाएका स्याङ्जाका सागरमाथिको आरोपबारे छानबिन होला वा नहोला अथवा उनी दोषी सावित हुन्छन् कि हुँदैनन् भन्ने एकीन छैन । तर उनको करिअरमा भने दाग लागेको छ ।

अमेरिकामा रहेकी एक युवतीले सागरमाथि जबर्जस्ती करणीको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू सागरबाट बलात्कृत भएको र अहिले मानसिक पीडामा बसेको सार्वजनिक गरेपछि सागर विवादमा तानिएका छन् । उनको चौतर्फी आलोचना भइरहेको छ ।

सागर आफैंमा विवादास्पद कलाकारसमेत हुन् । उनीमाथि टिकटकबाट उदाएकी कलाकार प्रिज्मा खतिवडालाई साइबर हिंसा गरेको आरोप लागेको थियो । यस प्रकरणमा उनले माफी मागेर मिलापत्र गरेको प्रिज्माले नै पुष्टि गरेकी थिइन् ।