एक्सन, प्रेम र सस्पेन्सले भरिएको ‘राम नाम सत्य’ ट्रेलर युट्युबको नम्बर १ ट्रेन्डिङमा


काठमाडौं – निर्देशक माइकल चन्द को निर्देशनमा बनेको चलचित्र ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक भएसँगै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलरले सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जालमा दर्शकको राम्रो प्रतिक्रिया बटुल्न सफल भएको हो।

रिलिज भएको करिब ३ घण्टामै ट्रेलरले ८० हजारभन्दा बढी भ्युज हासिल गर्दै ट्रेन्डिङको ७ नम्बरमा पुगेको थियो भने पछि नम्बर १ मा उक्लिएको छ। ट्रेलरमा एक्सन स्टार विराज भट्ट को दमदार उपस्थिति देख्न सकिन्छ। उनको एक्सन र संवादले दर्शकलाई आकर्षित गरेको छ।

यसैगरी, नायक सुशील श्रेष्ठ र नायिका दिव्या रायमाझी बीचको प्रेमकथा पनि ट्रेलरको मुख्य आकर्षण बनेको छ। विराज र सुशीलबीचको एक्सन दृश्यले थप रोमाञ्च थपेको छ। नव–नायक आयुष सिंह ठकुरी को सस्पेन्सपूर्ण भूमिका पनि विशेष देखिएको छ, जसले दर्शकमा थप कौतुहलता जगाएको छ।

चलचित्रका यसअघि सार्वजनिक दुई गीतले नै दर्शकको मन जितिसकेका छन्। अब ट्रेलरले पाएको सकारात्मक प्रतिक्रियाले फिल्मप्रतिको उत्सुकता झन् बढाएको छ। कथा, पटकथा तथा लेखन पनि निर्देशक चन्दकै रहेको यो चलचित्र आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।

फिल्ममा खुशी कार्की, दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दिपक कोइराला, विनुता विमली, सरोज शाहलगायत कलाकारको अभिनय रहेको छ। साथै आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बाल कलाकारको रूपमा देखिएका छन्।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा बनेको यस चलचित्रमा उपेन्द्र शाही र स्वेता विमली निर्माता, जराज चटौत र दमन बहादुर चन्द सह–निर्माता रहेका छन् भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माताको भूमिकामा छन्। चलचित्रमा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको ब्याकग्राउन्ड म्युजिक, सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ। मोती कार्की क्रियटिभ निर्माता तथा राजेन्द्र आचार्य लाइन प्रोड्युसर रहेका छन्।