काठमाडौं, चैत्र २० | प्रतिनिधि सभा सदस्य खुश्बु ओली ले झापा गाउँपालिका का कृषकहरूले भोगिरहेका समस्या तथा हालैका प्राकृतिक विपद्बाट भएको क्षतिलाई सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ।
ओलीले आज कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी समक्ष सरोकार पत्र पेश गर्दै झापा गाउँपालिकालाई प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गर्न आग्रह गर्नुभएको हो।
उहाँले निरन्तर रूपमा भइरहेको कृषिबाली क्षतिका कारण किसानहरू गम्भीर मारमा परेको उल्लेख गर्दै विशेषगरी केरा र मकै खेती हुने क्षेत्रमा करोडौं रुपैयाँ बराबरको क्षति भएको बताउनुभयो।
किसान अनुसार, सरकारले तोकेका बीमा कम्पनीहरूले आवश्यक परेको समयमा किसानलाई बीमा गर्न नमान्ने वा ढिलाइ गर्ने प्रवृत्तिप्रति पनि उहाँले आपत्ति जनाउनुभएको छ। यस्तो प्रवृत्तिलाई तुरुन्त नियमन गरी बीमा कम्पनीहरूलाई जवाफदेही बनाउनुपर्ने उहाँको माग छ।
यसैगरी, कृषि बीमा सम्बन्धी लापरवाही गर्ने संस्थाहरूलाई कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई आग्रह गरिएको छ।
विगतमा संकलित कृषिबाली क्षति सम्बन्धी फाइलहरू अर्थ मन्त्रालय अन्तर्गतका निकायहरूमा अलपत्र परेको विषयमा समेत ध्यानाकर्षण गराइएको छ।
मन्त्री चौधरीले उठाइएका समस्याहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ।












प्रतिक्रिया