मन्त्री श्रेष्ठले विद्युत् नीतिमाथि आन्तरिक छलफल सुरु, दीर्घकालीन दृष्टिकोणमा जोड


काठमाडौं, चैत्र २० | ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिमाथि आन्तरिक छलफल सुरु गर्नुभएको छ।

शुक्रबार मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले समग्र ऊर्जा क्षेत्रको विकास, संरचनागत तथा संस्थागत सुधार, ऊर्जा उपयोग र वातावरण संरक्षणलगायतका विषय समेटिने गरी नीति तयार गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले विद्युत् नीति निर्माण गर्दा ऊर्जा क्षेत्रसँग सम्बन्धित तथ्य र तथ्यांक स्पष्ट हुने गरी अघि बढ्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। साथै, नीतिको मस्यौदामाथि सरोकारवाला पक्षहरूसँग बृहत् छलफल गरी दीर्घकालीन सोचसहित अघि बढ्नुपर्ने बताउनुभयो।

मन्त्री श्रेष्ठले गुणस्तरीय ऊर्जा आपूर्ति, आन्तरिक खपत वृद्धि, ऊर्जा सम्मिश्रण, जलवायु परिवर्तनको प्रभाव, ‘लस एन्ड ड्यामेज’ तथा कार्बन ट्रेडजस्ता महत्वपूर्ण विषयहरूलाई नीतिले समेट्नुपर्ने उल्लेख गर्नुभयो। भविष्यमा आउन सक्ने चुनौतीहरूलाई ध्यानमा राख्दै नीति निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो।

उहाँका अनुसार आगामी दिनमा बन्ने ऐन तथा कानुनलाई विद्युत् नीतिले नै दिशानिर्देश गर्ने भएकाले दीर्घकालीन दृष्टिकोणसहित नीति ल्याउन आवश्यक छ।

त्यस्तै, जलविद्युत् तथा स्वच्छ ऊर्जा विकासमा पुँजी परिचालनको स्पष्ट अवधारणा समेटिनुपर्ने र ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउँदै प्रतिफलको सुनिश्चितता गर्नेतर्फ पनि नीति केन्द्रित हुनुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो।