काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दै छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेस दलको नेतामा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्कादेखि निस्कल राईसम्मको चर्चा छ ।
सभामुख चयन नगरुन्जेल जेष्ठ सदस्य केसीले संसद् बैठक सञ्चालन गर्दै आएका थिए । जसकारण कांग्रेसले ढिलो गरी दलको नेता चयन गर्न लागेको हो । आइतबार सभामुखको पदभार ग्रहण गरेकाले अब डोलप्रसाद अर्यालले नै प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन् ।
कांग्रेसबाहेक सबै दलले संसदीय दलको नेता चयन गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) दलको नेता चयन भएर प्रधानमन्त्री बनेका छन् । एमालेले रामबहादुर थापा बादललाई, नेपाली कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई र राप्रपाले ज्ञानेन्द्र शाहीलाई दलको नेता चयन गरेका छन् ।
तर, प्रतिनिधिसभाको दोस्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षीकांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन । विपक्षी दलको नेता संवैधानिक परिषदको पदेन सदस्य हुने भएकाले पनि बढी चासो देखिएको छ । कांग्रेसमा केसी र आङ्देम्बेमध्ये एक दलको नेता बन्ने प्रबल सम्भावना छ ।












प्रतिक्रिया