काठमाडौं । पुँजी बजार ‘क्र्यास’ भएपछि ब्रोकर एसोसिएसन अफ नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ६ बुँदे मागपत्र बुझाएको छ । एसोसिएसनले सोमबार अर्थमन्त्री वाग्लेलाई भेटेर पुँजी बजारमा देखिएका विद्यमान समस्या समाधानका लागि ६ बुँदे मागपत्र बुझाएको हो । एसोसिएसनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित पत्रमा हाल बजारमा ५६ लाखभन्दा बढी लगानीकर्ता र ५२ वटा ब्रोकरहरू सक्रिय रहेको अवस्थामा नयाँ सरकार र अर्थमन्त्रीबाट ठूलो आशा राखिएको उल्लेख गरिएको छ ।
नयाँ सरकार बनेयता नेप्से परिसूचक ३०० अंकले घटेपछि ब्रोकर एसोसिएसन चिन्तित बनेको छ । धितोपत्र दलाल व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान भएमा मात्र पुँजी बजारको विकास हुने र लगानीकर्ताको मनोबल बढ्ने विश्वास मागपत्रमा उल्लेख छ । सुधारका लागि अघि सारिएका मागहरूमा पुँजी बजार सुधार कार्यदलले दिएका, तर हालसम्म कार्यान्वयन हुन बाँकी सुझावलाई तत्काल लागू गर्नुपर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजी बजारमा सहज रूपमा प्रवेश र बहिर्गमनको व्यवस्था मिलाउन तथा सेयर खरिद गरेको ६ महिनापछि मात्र बिक्री गर्न पाउने हालको प्रावधान हटाउन माग गरिएको छ ।
साथै, गैरआवासीय नेपालीहरूलाई पनि दोस्रो बजारमा सहज रूपमा सेयर कारोबार गर्न पाउने वातावरण बनाउन एसोसिएसनले सरकारसँग आग्रह गरेको छ । कर र प्राविधिक पक्षका सम्बन्धमा, आगामी बजेटमार्फत पुँजीगत लाभकरलाई नै अन्तिम करका रूपमा स्पष्ट पार्नुपर्ने र सरकारी संस्थानहरूमा रहेका विभिन्न कोषहरूलाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने माग राखिएको छ ।
मन्त्री वाग्लेले बजारलाई अझै पारदर्शी बनाउनेतिर सरकारको उद्देश्य रहेको र यसबाट सबैलाई लाभ हुने प्रष्ट पारेका थिए। अर्थमन्त्रीले भने, ‘नेपाललाई ग्रेलिष्टबाट बाहिर ल्याउनु छ। त्यसका लागि सुशासनका काम गर्नुछ। जनमत पनि यही हो। हामी गर्छौँ। केही अनुसन्धान पुरानै हुन अहिले अन्तिमतिर पुगेकाे छ।’












प्रतिक्रिया