पूर्वश्रीमतीलाई मानसिक यातना दिएको आरोप, जीपीविरुद्ध पक्राउ पुर्जी जारी


भक्तपुर । पूर्वश्रीमतीलाई मानसिक यातना दिएको आरोपमा सञ्चारकर्मी जीपी तिमल्सिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भक्तपुरको नेपाल प्रहरी–महिला सेलबाट तिमल्सिनाविरुद्ध सोमवार दिउँसो पक्राउ पुर्जी जारी भएको हो । तिमल्सिनाविरुद्ध उनकी पूर्वपत्नी उषा खड्गीले भक्तपुर महिला सेलमा अभद्र व्यवहार, धम्की तथा कुटपिटको प्रयाससहितका आरोपसहित जाहेरी दिएकी थिइन् ।

त्यही जाहेरीका आधारमा महिला सेलले पक्राउ पुर्जी जारी गरेको बताइन्छ । उषाले प्रहरीको महिला सेलप्रति आफू आभारी भएको जनाएकी छन् । उनी सन् २००० को मिस नेपाल पनि हुन् । सम्बन्ध विच्छेद भए पनि उषा र जिपी एउटै घरको तल्लो र माथिल्लो तलामा बस्दै आएका छन् ।

पछिल्लो केही समयदेखि जिपीले आफूविरुद्ध मानसिक यातना दिएको उषाले केही दिनअघि सामाजिक सञ्जालमा लेखेकी थिइन् । अब आफू सहेर नबस्ने भन्दै कानुनी लडाइँ लड्ने उनको भनाइ थियो । सोहीअनुसार उनी प्रहरीकहाँ पुगेकी हुन् । उषासँग सम्बन्ध विच्छेद गरेका जिपीले अर्को बिहे गरेर त्यही घरमा बस्दै आएका छन् । एक छोरा र छोरीसहित बसेकी उषालाई घर छाडेर जिपीले धम्की दिने गरेको पाइएको छ ।