काठमाडौं । श्रममन्त्री दिपक साहकी श्रीमती जुनु श्रेष्ठ स्वास्थ्य बिमा बोर्डकी सदस्य नियुक्त भएकी छन् । ११ पटक बैठकमा अनुपस्थित भएपछि कारबाहीमा परेकी तत्कालीन स्वास्थ्य बीमा बोर्डकी सदस्य श्रेष्ठलाई स्वास्थ्यमन्त्री निशा मेहताले पुनः नियुक्ति दिलाएकी हुन् । स्वास्थ्य बीमा ऐनले निरन्तर तीनपटक बैठकमा अनुपस्थित भएमा स्वतः निलम्बन हुने व्यवस्था गरेको छ ।
मन्त्री मेहताले श्रममन्त्री साहकी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह बालेन र उनले लिएको सुशासनको अभियानमाथि धक्का लागेको छ। योग्यताको आधारभन्दा सम्बन्धको आधारमा अवसर बाँडिएको सन्देश गएको छ ।
श्रेष्ठ यसअघि पनि सोही बोर्डको सदस्य रहिसकेकी थिइन्। तर, बोर्डका बैठकहरूमा पटक–पटक अनुपस्थित भएको कारण नियमअनुसार स्वतः निलम्बनमा परेकी थिइन् । निलम्बनपछि उनी विश्व स्वास्थ्य संगठनअन्तर्गत नागरिक समाज आयोगको स्टियरिङ कमिटीमा चयन भएकी थिइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति पाएका सार्वजनिक निकायका पदाधिकारीलाई स्वेच्छाले पद छाडेर मार्गप्रशस्त गर्न आह्वान गरेका थिए । तर स्वास्थ्यमन्त्रीको पछिल्लो निर्णयले त्यसमा धक्का लागेको छ ।
संसद्मा सम्बोधन गर्दै लामिछानेले संविधान र कानुनको आवरणमा राजनीतिक सिफारिसबाट नियुक्ति लिएका पदाधिकारीहरूले स्वेच्छाले राजीनामा दिँदै मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए। उनले सरकार नयाँ मापदण्ड, नीति र प्रतिस्पर्धात्मक प्रक्रियामार्फत स्वच्छ नियुक्ति प्रणाली लागू गर्न चाहेको उल्लेख गरेका थिए। तर, त्यही समयमा स्वास्थ्य क्षेत्रमा भने फरक सन्देश गएको छ।
निरन्तर तीनपटक बैठकमा अनुपस्थित भएमा स्वतः निलम्बन हुने व्यवस्थाअनुसार यसअघि निलम्बनमा परेकी श्रेष्ठलाई पुनः सोही पदमा नियुक्त गरिनु कानुनी र नैतिक दुवै हिसाबले विवादको विषय बनेको छ।












प्रतिक्रिया