काठमाडौं – सर्लाहीका कुमार पौडेलको गैरन्यायिक हत्याकाण्डको अनुसन्धान अघि बढ्ने भएको छ । सर्वोच्च अदालतले अनुसन्धान गर्न आदेश दिएपछि तत्कालीन गृहमन्त्री एवं एमाले कार्यबाहक अध्यक्ष रामबहादुर थापा बादलमाथि अनुसन्धान हुन सक्ने देखिएको छ ।
थापा गृहमन्त्री भएका बेला पौडेलको गैरन्यायिक हत्या भएका कारण उनीमाथि अनुसन्धान अगाडि बढाउने तयारीमा सरकार लागेको हो । पौडेलको गैरन्यायिक हत्यामा अनुसन्धान गर्न सर्वोच्च अदालतले समेत परमादेश दिइसकेको छ ।
यदि सरकारले यो घटनाको अनुसन्धान अगाडि बढाए तत्कालीन गृहमन्त्री थापा, तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतका अधिकारीहरू तानिन सक्नेछन् । पौडेल हत्या प्रकरणमा तत्कालीन गृहमन्त्री थापासहित विभिन्न १० जना अधिकारीमाथि अनुसन्धान गर्न सर्वोच्चले परमादेश दिएको छ । गत २९ फागुनमा सर्वोच्चले सो परमादेश जारी गरेको हो ।
सर्वोच्चको आदेशबमोजिम तत्कालीन गृहमन्त्री थापा, बागमतीका मेयर भरत थापालगायत विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्ने बाटो खुला भइसकेको छ ।
एमाले अध्यक्ष केपी ओलीपछि दोस्रो वरीयतामा रहेका थापा कार्यबाहक अध्यक्ष र संसदीय दलका नेता हुन् । ओली नेतृत्व कै सरकारमा थापा गृहमन्त्री थिए । नक्कली भुटानी शरणार्थी काण्डमा उनका छोरा प्रतीक थापा मुछिँदा पनि पूर्वगृहमन्त्री थापामाथि भने अनुसन्धान भएको थिएन ।
सर्लाहीका पौडेल हत्या प्रकरणमा तत्कालीन गृहमन्त्री थापा, बागमतीका तत्कालीन मेयर भरत थापा, तत्कालीन प्रहरी महानिरीक्षक खनाल, सर्लाहीका सिडिओ र प्रहरी प्रमुख, प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरीसहित १० जनाविरूद्ध जाहेरी परेको थियो । प्रहरीले उक्त जाहेरी दबाएपछि उनको परिवारले सर्वोच्च अदालतमा रिट हालेको थियो ।
यसअघि २०७८ असोज १२ मा पनि सर्वोच्चले जाहेरीमाथि अनुसन्धान गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीमा पेस भएको किटानी जाहेरीमाथि अनुसन्धान अघि बढाउनुपर्ने छ । पीडितको दावीअनुसार तत्कालीन गृहमन्त्री थापाको प्रत्यक्ष निर्देशनपछि तत्कालीन प्रहरी महानिरीक्षक खनालले प्रहरी मुख्यालयको विशेष व्यूरोबाट खटाएको प्रहरी टोलीले पौडेलको हत्या गरेको हो ।
मानव अधिकार आयोगले त प्रहरी मुख्यालयबाट नै टोली खटिएकाले महानिरीक्षक खनालको भूमिकामाथि थप प्रश्न उठाएको थियो । किटानी जाहेरीमा प्रत्यक्षरुपमा उनीहरुको नाम नजोडिए पनि त्यसको व्यहोरामा थापा र खनालमाथि छानबिन र कारवाही हुनुपर्ने माग छ ।पौडेलको हत्यामा सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोपाल भट्टराई, प्रदेश नम्बर २ प्रदेश प्रहरी प्रमुख तत्कालीन डिआईजी हरिबहादुर पाल, इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, सई सुर्यकुमार कार्की, जिल्ला अस्पताल सर्लाहीमा मलगंवामा कार्यरत डा. वीरेन्द्रकुमार मण्डल, प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएका प्रहरी हबल्दार सत्य नारायण मिश्र, विनोद शाह, गोली प्रहार गर्ने प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहमाथि अनुसन्धान हुने बताइएको छ ।












प्रतिक्रिया