काठमाडौँ – नेपाल टेलिकममा आमूल सुधारका प्रयास थालिएका छन् । अब डाटा सकिँदा स्वतः पैसा नकाटिने भएको छ । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ठोस कदम अघि बढाएको हो ।
विशेषगरी ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने उद्देश्यले व्यापक रूपान्तरण प्रक्रिया अघि बढाइएको छ ।
सञ्चार मन्त्रालयले नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली लागू गर्ने उद्देश्यसहित १० बुँदे सुधारात्मक कार्ययोजना ल्याएको छ । यस योजनामा नेपाल टेलिकमको सेवा सुधारलाई पनि प्राथमिकतामा राखिएको छ । यसअन्तर्गत ग्राहक सेवालाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ ।
विगतमा सेवा अवरोध, ढिलो प्रतिक्रिया, अनावश्यक प्रक्रियागत झन्झट र ग्राहकको गुनासो समाधानमा ढिलाइजस्ता समस्या बारम्बार उठ्दै आएका थिए । यिनै समस्यालाई सम्बोधन गर्न अहिले मन्त्रालय र कम्पनी दुवैले समन्वयात्मक ढंगले काम गरिरहेका छन् ।
नेपाल टेलिकमका प्रयोगकर्ताहरूले लामो समयदेखि डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्याबारे गुनासो गर्दै आएका थिए । अब यो प्रणाली अन्त्य गरिएको छ । यसको सट्टा ग्राहकले थप पारदर्शी र आफैँ छान्न सक्ने विकल्पसहितको सेवा पाउनेछन् ।
अब ग्राहकले लिएको डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिइनेछ । जसले बाँकी डाटा कति छ भन्ने जानकारी समयमै दिन्छ । यससँगै पे–एज–यू–गो (पिएवाईजी) अर्थात् डाटा प्याकेजबिनै इन्टरनेट चलाउने र रकम काट्ने विकल्प उपलब्ध गराइएको छ । जसले ग्राहकलाई प्याकेजबिना पनि आवश्यकताअनुसार इन्टरनेट प्रयोग गर्नसक्ने सुविधा दिन्छ । साथै, ग्राहकले नयाँ प्याकेज लिने वा सिधै पिएवाइजी मोडमा जाने भन्ने निर्णय आफैँ गर्न सक्नेछन् ।
नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो प्रणाली हाल परीक्षण चरणमा रहेको र केही दिनभित्रै पूर्ण रूपमा लागू हुनेछ । उनका अनुसार युएसएसडीमार्फत खरिद गरिने डाटा प्याकमा यो सुविधा तीनदेखि पाँच दिनभित्र लागू हुनेछ भने नेपाल टेलिकमको मोबाइल एप प्रयोग गर्ने ग्राहकका लागि सातदेखि १० दिनभित्र कार्यान्वयनमा आउनेछ । यसले डिजिटल माध्यममार्फत सेवा प्रयोग गर्ने ग्राहकहरूलाई अझ सहज अनुभव दिने विश्वास लिइएको छ ।
नेपाल टेलिकमका ग्राहक सेवा प्रक्रियालाई सरल र प्रभावकारी बनाउन वन टाइम केवाइसी प्रणाली लागू गर्न पनि सञ्चारमन्त्री तिमिल्सिनाले निर्देशन दिएका छन् । यसबाट ग्राहकले एकपटक मात्र आफ्नो विवरण बुझाएपछि भविष्यमा फेरि त्यही विवरण पेस गर्नुपर्ने झन्झट अन्त्य हुने जनाइएको छ ।
अहिले सिम कार्ड लिन, नवीकरण गर्न वा अन्य सेवा लिन जाँदा बारम्बार कागजात पेस गर्नुपर्ने समस्या थियो । जसले ग्राहकलाई हैरानी दिँदै आएको थियो । नयाँ प्रणाली लागू भएपछि सेवा प्राप्ति प्रक्रिया छिटो, सरल र झन्झटरहित हुने अपेक्षा गरिएको छ । यो प्रणाली आगामी ३० दिनभित्र कार्यान्वयनमा ल्याइसक्ने लक्ष्य राखिएको छ । आगामी ३० दिनभित्र आवश्यक नीतिगत सुधार सम्पन्न गरी सेवा गुणस्तरमा सुधार ल्याउने लक्ष्य राखिएको छ ।












प्रतिक्रिया