विभिन्न देशका राजदूतसँग सामूहिक भेट गर्दै प्रधानमन्त्री बालेन


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनसँग विभिन्न मुलुकका राजदूतहरूले बुधबार सामूहिक भेट गर्ने भएका छन् । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो हुनेछ ।

परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई संक्षिप्त रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘प्रधानमन्त्री वालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ । मर्यादित कूटनीति, बलियो नेपाल,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले भने ।

बालेन नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल हुन लागेको यो पहिलोपटक हो । यसअघि विगतमा प्रधानमन्त्रीलाई राजदूतहरूले एक्लाएक्लै भेटघाट गर्ने प्रचलन थियो । तर प्रधानमन्त्री बालेनले त्यसलाई तोडेका छन् । उनले प्रधानमन्त्रीको शपथ ग्रहणका बेलाबाहेक छुट्टै कुनै देशका कूटनीतिज्ञलाई भेटेका छैनन् । भारत र चीनका राजदूतले भने परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट गरेका छन् ।

देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले प्रधानमन्त्रीले सामूहिक छलफल गर्न लागेका हुन् ।