काठमाडौं । पश्चिम एसियाबाट तेस्रो विश्व युद्ध हुने सम्भावना तत्कालका लागि टरेको छ । अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति भएपछि त्यो सम्भावना टरेको हो ।
तेहरानलाई स्ट्रेट अफ होर्मुज खोल्न वा इरानका नागरिक पूर्वाधारहरूमा विनाशकारी आक्रमणको सामना गर्न दिएको अन्तिम समयसीमा सकिनुभन्दा अगाडि नै दुई देशबीच सहमति भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानसँग दुई हप्ताका लागि युद्धविराम गरिएको घोषणा गरेका जानकारी दिएका छन् । ‘इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्ने सर्तमा दुई हप्ताका लागि म बम विस्फोट र आक्रमण स्थगन गर्न सहमत भएको छु,’ उनले लेखेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेना प्रमुख असिम मुनिरको अनुरोधमा युद्धविराम गर्ने निर्णय गरिएको हो । ‘हामीले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त गरेका छौँ। दुई देशबिचका सबै विवादास्पद मुद्दामा सहमति भएको छ। सम्झौतालाई अन्तिम रूप दिन र कार्यान्वयन गर्न अर्को दुई हप्ता आवश्यक हुनेछ,’ उनले भनेका छन् ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानको राजधानी इस्लामाबादमा थप वार्ता हुने बताएको छ । इरानले होर्मुज स्ट्रेट दुई हप्ता खुला गरिने जानकारी गराउँदै यस अवधिमा आफ्ना नागरिकलाई राष्ट्रिय एकता कायम राख्न र पूर्ण शक्तिका साथ विजय मनाउन आग्रह गरेको छ ।
मेहर समाचार एजेन्सीका अनुसार यो सम्झौता पाकिस्तानको मध्यस्थतामा भएको हो। युद्धविराम सम्झौता देशका सर्वोच्च नेता आयतोल्लाह मोज्तबा खामेनीले अनुमोदन गरेका छन्। इरानले यो सम्झौतालाई आफ्नो विजयका रूपमा वर्णन गरेको छ।
अमेरिका र इजरायलले आफ्नो देशका प्राकृतिक स्मारक, पुल, विश्वविद्यालयलगायतमा मिसाइल आक्रमण गर्ने सम्भावनापछि इरानी नागरिक मानव साङ्लो बनाएर ती स्थानमा बसेका थिए ।












प्रतिक्रिया