परिचयपत्रका आधारमा वकिललाई सिंहदरबार प्रवेशमा निषेध


काठमाडौं । सरकारले कानुन व्यवसायीलाई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाएको छ ।
नेपाल बार काउन्सिल र नेपाल बार एसोसिएसनबाट जारी भएको कानुन व्यवसायीको परिचयपत्रका आधारमा अब सिंहदरबार प्रवेश गर्न पाइने छैन ।

सिंहदरवारभित्र प्रशासकीय अदालतसमेत रहेकाले कानुन व्यवसायीका लागि त्यहाँको प्रवेश अनिवार्य छ । तर नयाँ सरकार आएलगत्तै वकिलहरुमाथि निशाना साँधिएको आरोप नेपाल बारको छ ।

प्रशासकीय अदालतका रजिष्टार सरोजराज रेग्मीले सूचना जारी गर्दै कानुन व्यवसायीको हकमा नागरिक एपको सिंहदरवार गेट पासका आधारमा प्रवेश गर्नुपर्ने जनाएका छन् । मुद्दाका पक्ष र वारेसले भने तारिख पर्चाको आधारमा प्रवेश पाउने व्यवस्था भएको सूचनामा उल्लेख छ ।

प्रशासकीय अदालतवाहेक अन्य निकाय तथा मन्त्रालयमा प्रवेशका लागि सम्बन्धित निकायसँगै समन्वय अदालतले आग्रह गरेको छ ।

सिंहदरवारमा वकिलहरुलाई परिचयपत्रका आधारमा प्रवेश सहज गराउने श्रेय तत्कालीन सभामुख सुवास नेम्वाङलाई जान्छ । उनले तत्कालीन गृहमन्त्री कृष्ण सिटौलालाई बोलाएर नेपाल बारका पदाधिकारीलाई समेत राखेर कानुन व्यवसायी परिचयपत्रको आधारमा प्रवेश पाइने व्यवस्था मिलाएका थिए । जसलाई अहिलेको सरकारले खारेज गरेको छ ।