काठमाडौं । नेपालमा पक्राउ परेको एक सातापछि मात्रै कलाकार सागर लम्साल बलेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । पीडित युवतीको परिवारले सागरविरुद्ध अमेरिकाको न्युयोर्क सिटीस्थित प्रहरीमा जाहेरी दर्ता गरेको हो ।
प्राप्त खबरअनुसार नेपाल तथा अमेरिकाका कानुन व्यवसायीहरुसँगको छलफलपछि पीडित युवतीले आफू रहेको न्युयोर्क सिटीको प्रहरी चौकीमा बलेविरुद्ध किटानी जाहेरी दिएकी हुन् । पीडित आफैँ प्रहरीसमक्ष उपस्थित भएर जाहेरी दिएकी हुन् ।
पीडितद्वारा जाहेरी दर्ता गरिएसँगै अमेरिकी प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालिसकेको बताइन्छ । अब अमेरिकी प्रहरीले नेपाल प्रहरीसँगको सहकार्य तथा समन्वयमा सागर लम्सालले अमेरिकामा गरेको अपराध, नेपालमा भएको उनको गिरफ्तारी, नेपाल प्रहरीलाई दिएको वयानका आधारमा थप अनुसन्धान गर्ने बताइएको छ ।
कलाकार लम्सालले एक वर्षअघि आफूलाई बलात्कार गरेको युवतीले आरोप लगाएकी थिइन् । उनले सामाजिक सञ्जालमा स्टाटस हालेपछि प्रहरीले लम्साललाई पक्राउ गरेको थियो ।
स्रोतका अनुसार यो मुद्दामा आवश्यक प्रमाण संकलन, बयान र कानुनी प्रक्रिया अघि बढाइँदैछ । साथै, नेपाल प्रहरीसँग सहकार्य गरी थप अनुसन्धान, अभियुक्तको अवस्था र आवश्यक कानुनी कदमबारे समन्वय गरिने जनाइएको छ। अन्तरदेशीय समन्वयमार्फत मुद्दालाई निष्कर्षमा पुर्याउने प्रयास भइरहेको बताइन्छ । नेपाल प्रहरीले थप पाँच दिन म्याद थपेर अनुसन्धान अघि बढाएको छ ।
प्रारम्भिक रूपमा प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुर अन्तर्गत राखेको भए पनि, घटनाको प्रकृति हेर्दा थप गम्भीर अभियोगतर्फ अनुसन्धान केन्द्रित हुन सक्ने संकेत गरिएको छ ।












प्रतिक्रिया