सरी भन्न जाँदा छुरी प्रहार गरी दाजुभाइकाे हत्या



पाटन दरबार स्क्वायरमा यसरी मारिए झापाका नेम्वाङ दाजुभाइ

काठमाडौं । झापाको कमल गाउँपालिका–६ घर भई ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको छ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट दुवैको हत्या भएको हो । उनीहरुको बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार एउटालाई गरेको फोन अर्कैको नम्बरमा डायल हुँदा उत्पन्न विवादपछि दाजुभाइले नै ज्यान गुमाएका छन् । ललितपुर प्रहरीका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार आफूबाट गल्ती भएको भन्दै माफी माग्न र मिल्नका निम्ति सुमित–सिर्जन दाजुभाइ त्यहाँ पुगेका थिए । उनीहरु दुबै पक्ष एकआपसमा अपरिचित थिए ।

दाजुभाइले गल्ती भयो भनेर कुरा गर्न खोज्दा कुरै नसुनी त्यहीँको एक मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले सिर्जनलाई चक्कु प्रहार गरेका थिए । भाइमाथि चक्कु प्रहार भएपछि दाइ सुमित छुट्याउन तम्सिए । तर, उनीमाथि पनि छुरा प्रहार भएको थियो । घाइते दाजुभाइलाई प्रहरीले तत्कालै ग्वार्कोस्थित बिएण्डबी अस्पताल लगेको थियो ।

नेम्बाङ दाजुभाइको हत्या अभियोगमा सञ्जीव र गगन सुनारलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । एउटा रङ नम्बर डायलले दुई दाजुभाइको हत्या भएसँगै नेपाली समाज अहिले कस्तो मनस्थितिबाट गुज्रिरहेको छ भन्ने देखाएको छ ।