काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको विषयले सत्ताको नेतृत्व गरिरहेको दल रास्वपामा दुई ध्रुव देखापरेको छ । पार्टी सभापति रवि लामिछाने राप्रपा र प्रधानमन्त्री वालेन्द्र शाह बालेन श्रम संस्कृति पार्टीको पक्षमा उभिएका छन् । केहीबेर अघि रास्वपा सभापति लामिछानेले राप्रपालाई उपसभामुखमा समर्थन गर्ने निर्णय गरेको खबर बाहिर आएको थियो ।
सोहीअनुसार राप्रपाले सरस्वती लामालाई उपसभामुखको उम्मेदवार बनाउँदै मनोनयन दर्ता गरेको थियो । तर आधा घन्टामै रास्वपाको निर्णय फेरिएको छ । अहिले रास्वपाले श्रम संस्कृति पार्टीको उम्मेदवार रुविकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय आएको छ । सोहीअनुसार रास्वपाले प्रेस नोट जारी गरेको छ ।
जसमा लेखिएको छ, ‘प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन श्रम संस्कृति पार्टीका सासंद माननीय रुविकुमारी ठाकुर (धनुषा) लाई रहने निर्णय भएको छ। यसको समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी रहनुहुनेछ ।’ कांग्रेस, एमाले र नेकपा पनि श्रम संस्कृति पार्टीलाई उपसभामुखमा समर्थन गर्न तयार छन्। श्रम संस्कृति पार्टीबाट २५ वर्षीया रुबीकुमारीले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् । संसद सचिवालयले उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकेको थियो ।












प्रतिक्रिया