श्रीमतीकै कारण श्रममन्त्री दीपक साहको पद चैट हुँदै


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले श्रममन्त्री दीपककुमार साहलाई पदबाट बर्खास्त गर्ने तयारीका छन् । सम्भवतः बिहीबार नै उनी बर्खास्तीमा पर्ने भएका हुन् । यसबारे बालेनले छलफल तीव्र पारेको बताइन्छ । श्रीमती जुनु श्रेष्ठकै कारण साहले मन्त्री पद गुमाउन लागेका हुन् ।

यसअघि ११ पटकसम्म स्वास्थ्य बिमा बोर्डको बैठकमा उपस्थित नभएपछि श्रेष्ठलाई सदस्य पदबाट हटाइएको थियो । तर पाँच दिनअघि श्रेष्ठ पुनः स्वास्थ्य विमा बोर्डको बैठकमा उपस्थित भइन् । स्वास्थ्यमन्त्री निशा मेहेतालाई प्रभावमा पारेर श्रममन्त्री साहले श्रीमतीलाई पुनः बोर्ड सदस्यमा नियुक्ति दिलाएको पुष्टि भएपछि प्रधानमन्त्री बालेनले उनलाई सत्ताको दुरुपयोग गरेको आरोपमा बर्खास्ती गर्न लागेका हुन् ।

सोही कारण बिहीबार बिहानैदेखि श्रममन्त्री साहलाई हटाउन लागिएको भनेर मिडिया ट्रायल भइरहेको छ । साह १३ चैतमा मन्त्रीमा नियुक्त भएका थिए । महोत्तरी २ बाट निर्वाचित उनी लन्डन स्कुल अफ इकोनोमिक्सबाट अध्ययन गरेर आएका हुन् । उनी इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तर गरेका छन् र नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्षसमेत हुन्।

साहको विगत पनि विवादित पृष्ठभूमिको रहेको छ । रास्वपाले आफ्ना सांसदलाई मन्त्रीमा पठाउँदा जुनसुकै बेला फिर्ता बोलाउन सक्ने भनेको थियो । सोहीअनुसार प्रधानमन्त्रीले राइट टु रिकलको अभ्यास गर्न लागेका हुन् । प्रधानमन्त्री शाहले श्रम मन्त्रालयमा अर्को व्यक्ति ल्याउने सोच बनाएको उनको सचिवालयका एक अधिकारीले जानकारी दिएका छन् । तर, निर्णय भने भइसकेको छैन ।