सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराका बाबुछोराविरुद्ध अदालतमा मुद्दा


काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार महरासहित उनका छोरा राहुल, नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर सात करोड बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पुस २०७९ मा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको आरोप अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

महरा सुन तस्करीमा जोडिएका बेला प्रचण्ड प्रधानमन्त्री थिए । त्यसबेला एमाले, माओवादी र रास्वपाको सरकार थियो । नारायणकाजी श्रेष्ठपछि गृहमन्त्री रवि लामिछाने थिए । तर महराले उन्मुक्ति पाएका थिए । सुन तस्करी काण्ड अनुसन्धान नै भएन ।

यसअघि केपी ओली र सुशीला कार्की सरकारका पालामा पनि महरा पक्राउ परेका थिए । तर केही महिना थुनामा राखिए पनि महरा छुट्दै आएका थिए । वालेन्द्र शाह बालेन सरकारका पालामा भने महराविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा नै दर्ता भएको छ ।