काठमाडौं । पश्चिम एसियामा चर्केको युद्धका कारण पेट्रोलियम संकटको अवस्थालाई मध्यनजर गर्दै बालेन सरकारले सातामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले नै दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तर दुई दिने बिदाका कारण शैक्षिक र स्वास्थ्य क्यालेन्डर नै प्रभावित बनेको छ ।
यसबारे मिश्रित प्रतिक्रिया आइरहेको छ । सबैभन्दा धेरै शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रभाव पर्ने देखिएको छ । कतिपय स्थानीय तहले त दुई दिने बिदा कार्यान्वयन नगर्ने बताएका छन् । यता, स्वास्थ्य मन्त्रालयले आइतबार बिदाको दिन पनि ओपीडी सेवा उपलब्ध गराउन अस्पतालहरूलाई निर्देशन दिएको छ ।
कामको चाप र जनशक्ति हेरेर ओपीडी सेवा दिन मन्त्रालयले भनेको छ । यसरी काम गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एक गरी दुई दिन बिदा दिने व्यवस्था मिलाउन भनिएको छ । ‘अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड (कामको चाप) र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यस व्यवस्थाको लागु गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था गर्ने र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने व्यवस्था गर्ने ।’
प्रादेशिक अस्पतालमा समेत यो व्यवस्था मिलाउन आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । यदि सरकारी निर्णय कार्यान्वयन गरिएमा संघीय, प्रादेशिक र आधारभूत अस्पतालमा उपचार सेवा प्रभावित हुने निश्चित छ । त्यही भएर स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर आइतबार ओपिडी सेवा सञ्चालन गर्न भनेको हो ।












प्रतिक्रिया