काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ। उपसभामुखको निर्वाचनका विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो । पार्टीले जारी गरेको सूचनाअनुसार बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा तय गरिएको छ ।
बैठकको मुख्य कार्यसूची संसद्को उपसभामुख पदको निर्वाचन सम्बन्धमा पार्टीको धारणा र रणनीति तय गर्नु रहेको छ। उपसभामुखको निर्वाचनका अलावा बैठकमा अन्य समसामयिक तथा विविध विषयमा पनि छलफल हुने पार्टीले जनाएको छ। उपसभामुखको निर्वाचनमा रास्वपाले श्रम संस्कृति पार्टीकी रुबी कुमारीलाई रास्वपाले समर्थन गरिसकेको छ। बिहीबार पार्टी सभापति रवि लामिछानेले सुरुमा राप्रपालाई उपसभामुखमा समर्थन गर्ने भनेर फोन गरेका थिए ।
तर आधा घन्टापछि नै रास्वपाले श्रम संस्कृति पार्टीको उम्मेदवारको पक्षमा उभिएको हो । रास्वपाले आजको संसदीय दलको बैठकमा दलका उपनेता, प्रमुख सचेतक र सचेतकका विषयमा छलफल गर्ने बताइएको छ । प्रतिनिधिसभा बैठकमा पार्टीका गतिविधि सञ्चालन गर्न संसदीय कार्यसमिति गठन गर्ने तयारी छ ।
प्रतिनिधिसभाको उपसभामुखका लागि आज निर्वाचन हुँदैछ । आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुख चयन गर्ने कार्यसूची रहेको छ । उपसभामुखमा राप्रपाकी सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ । रुवी कुमारीको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा रास्वपाका सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला छन् ।












प्रतिक्रिया