काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई भारत भ्रमणको निमन्त्रणा दिएका छन् । बालेन प्रधानमन्त्री हुँदा दिएको बधाई सन्देशमै मोदीले भ्रमणको निमन्त्रणा दिएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन् । मौरिससको पोर्ट लुइसमा शनिबारदेखि सुरू भएको नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन पुगेका परराष्ट्रमन्त्री खनालले वायोन न्यूजसँगको कुराकानीमा मोदीको निमन्त्रणालाई प्रधानमन्त्री बालेनले स्वीकार गरिसकेकोसमेत बताए । तर, भ्रमणको मिति तय भइनसकेको र दुवै देशका संयन्त्रले उपयुक्त मिति तय गर्ने उनले बताए ।
हालै मोरिससमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको भेटवार्तापछि मन्त्री खनालले भ्रमणको तयारी भइरहेको बताए। नेपालले आफ्ना प्राथमिकता र योजनाहरूको स्पष्ट मार्गचित्र तयार गरेपछि मात्र भ्रमणको अन्तिम मिति तय हुनेछ। दुई देशबीच जारी परियोजनाहरूको समीक्षा गर्ने र नयाँ सहकार्यका क्षेत्रहरू खोज्ने सहमति समेत भएको छ। नेपालको आन्तरिक तयारी पूरा भएलगत्तै भारतीय परराष्ट्र सचिव थप छलफलका लागि काठमाडौं आउने अपेक्षा गरिएको छ।
नेपालका प्रधानमन्त्रीले प्रायः भारतबाटै आफ्नो पहिलो विदेश भ्रमण गर्ने गरेका छन् । एक दुई प्रधानमन्त्रीले भने अन्य देशबाट भ्रमण सुरु गरेका थिए । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनबाट आफ्नो विदेश भ्रमण सुरु गरेका थिए । तर सात महिनामै उनको पद खुस्क्यो । त्यसयताका प्रधानमन्त्रीले भारतबाट विदेश भ्रमण थालेका थिए ।
गत वर्ष प्रधानमन्त्री रहेका केपी ओलीले अमेरिका र चीनको भ्रमण गरेका थिए । तर भारत भ्रमणमा नगई उनी पदच्यूत भए । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनासम्म कुनै देशको भ्रमण नै गरिनन् । बालेन भने भारतबाटै विदेश भ्रमण सुरु गर्ने तयारीमा रहेको बताइन्छ । पाँच वर्षसम्म सरकार चलाउन जनम्यान्डेट भएका बालेनले त्यति हतार पनि नगरेको उनी निकट स्रोतले बतायो । सरकारले नयाँ बजेट ल्याउनुअघि बालेन विदेश भ्रमणमा नजाने भएका छन् ।












प्रतिक्रिया