१५ दिनमै गृहमन्त्री सुधन गुरुङ गुमनाम


काठमाडौं । गृहमन्त्री सुधन गुरुङको चर्चा एकाएक हराएको छ । मन्त्री भएको २४ घन्टा नबित्दै एमाले अध्यक्ष केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर चर्चा कमाए गुरुङ अहिले कहाँ के गर्दैछन् भन्ने भेउ आमजनताले पाउन छाडेका छन् । नयाँ सरकार बनेको एक सातासम्म सुधनको चर्चा प्रधानमन्त्री वालेन्द्र शाह बालेनभन्दा पनि चर्को थियो । जताततै गृहमन्त्री यस्तो, गृहमन्त्री त्यस्तो, हक्की नडराउने, गोर्खालीको छोरा भन्दै उनको चर्चा र प्रशंसा हुने गरेको थियो ।

तर १५ दिनमै उनी गुमनाम जस्तै भएका छन् । सामाजिक सञ्जाल र मिडियामा पनि उनको कतै चर्चा देखिन्न । नत्र गृह मन्त्रालयको सोफामा सुतेको, हरेक दिनजसो प्रहरी कार्यालय अनुगमन र निरीक्षणमा निस्केको, सामाजिक सञ्जालमा क्रिकेटको विकेट जस्तै उच्चपदस्थलाई पक्राउ गर्दा अंक हालेर बस्दा पनि सुधनकै चर्चा हुन्थ्यो ।

एक साताको बीचमा १० जना हाइप्रोफाइललाई पक्राउ गरेर हिरासतमा राखे पनि अहिले पाँचजना अदालतमा मुद्दा नपुग्दै छुटिसकेका छन् । केहीलाई सम्पत्ति शुद्धीकरणको तरबार झुन्ड्याएकाले उनीहरू अझै हिरासतमै छन् । जब पोखराको फेवातालमा २० रोपनी जग्गाको हकदार सुधन भएको रहस्य खुल्यो त्यसदिनदेखि उनको ओरालो यात्रा सुरु भएको हो ।

त्यति मात्र होइन, प्रधानमन्त्री बालेनले मन्त्रिपरिषदको वरीयतामा तेस्रोबाट पाँचौं स्थानमा झारिदिएपछि सुधन गुरुङको ‘हैसियत’ बल्ल देखिएको छ । अहिले उनी विभिन्न सडक र प्रहरी कार्यालय अनुगमनमा निस्कने गरेका छन् । तर पनि उनले दिएका निर्देशनप्रति प्रहरीमा खासै ऊर्जा ल्याउन सकेको छैन ।

गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोग र मानवअधिकार आयोगको प्रतिवेदनमा जेनजी आन्दोलन हिंसामय बनाउन सुधनको मुख्य भूमिका रहेको उल्लेख गरेपछि प्रहरीले पनि त्यति महत्व दिन छाडेको बताइन्छ । कुन दिन आफैं हिरासतमा पुग्नुपर्ने मान्छे रहेछ भन्दै प्रहरीको तल्लो तहले समेत महत्व दिन छाडेको स्रोतले बतायो ।