काठमाडौं । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय निकै आलोचित बनेको छ । इन्धन संकटबाट जोगिन भन्दै सरकारले साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । यो निर्णय झन्डै एक लाख निजामती कर्मचारीबाहेक अरुलाई कुनै फाइदा देखिएको छैन । दुई दिने सरकारी बिदालाई लिएर विभिन्न क्षेत्रबाट टीकाटिप्पणी र विरोध भइरहेको छ । यसबाट सबैभन्दा धेरै शैक्षिक र स्वास्थ्य क्षेत्र प्रभावित बन्ने देखिएको छ ।
साथै, न्यायालयको सेवामा पनि चुनौती थपिएको छ । स्वास्थ्य मन्त्रालयले त विज्ञप्ति नै जारी गरेर आइतबार ओपिडी सेवा सञ्चालन गर्न सरकारी अस्पतालहरूलाई निर्देशन दिएको छ । जसअनुसार अधिकांश अस्पतालले आइतबार पनि ओपिडी सेवा सञ्चालन गरेका छन् । तर नेपाल चिकित्सक संघले सरकारको निर्णय मान्न नसकिने बताएको छ ।
आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्न असम्भव रहेको संघले स्पष्ट पारेको छ। आइतबार ओपिडी सेवा सञ्चालन गर्न भन्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै संघले अस्पतालहरुमा जनशक्ति नथपिएकाले सो सम्भव नरहेको जनाएको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थामा जनशक्तिको वैज्ञानिक व्यवस्थापन नभएसम्म मन्त्रालयको अनुरोध कार्यान्वयन गर्न नसकिने जिकिर गरेको छ । ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ९–५ ड्युटीबाहेक अनकल, राउण्ड, इर्मजेन्सीलगायतका सेवा चौबिसै घण्टा प्रदान गरिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण रहेको संघको ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारद्वारा स्वास्थ्य संस्थामा रहेका जनशक्तिको वैज्ञानिक व्यवस्थापन नभएसम्म मन्त्रालयको उक्त अनुरोध कार्यान्वयन गर्न नसकिने र वर्कलोडका कारण गुणस्तरीय सेवा प्रवाहमा समस्या देखापर्ने सम्भावना रहेको छ ।’ सरकारले भनेको सट्टा बिदाको हकमा कानुनले रोक लगाएको संघको भनाइ छ ।
फरकफरक दिन बिदा दिँदा स्वास्थ्य संस्थामा एकरुपता नहुने जिकिर गर्दै संघले त्यसले सेवा प्रवाहमा असर पुर्याउने बताएको छ । ‘विभिन्न स्वास्थ्य संस्थामा फरक फरक दिन बिदा दिँदा अस्पतालहरुले दिने बिदामा एकरुपता नहुने र स्वास्थ्य सेवा लिने बिरामीहरु अन्योलमा पर्नुका साथै अनावश्यक झण्झट व्यहोर्नुपर्ने हुनाले यसले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्याउने देखिन्छ,’ संघले भनेको छ ।
प्याब्सन, एनप्याब्सनगायतका संघसंस्थाले आइतबार बिदा दिने सरकारी निर्णयले शैक्षिक क्यालेन्डर प्रभावित हुने भन्दै सरकारको ध्यानाकर्षण गरेको छ । यसरी सातामा दुई दिन बिदा दिँदा विद्यार्थीको पठनपाठन र अभिभावकलाई आर्थिक भार पर्ने उनीहरूको भनाइ छ । ललितपुर महानगरपालिकाले सार्वजनिक बिदाका दिनहरूमा समेत अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ । विशेष गरी आकस्मिक र अत्यावश्यक प्रकृतिका सेवाहरूलाई लक्षित गर्दै ललितपुर महानगरले बिदाको दिन पनि सेवा दिने निर्णय गरेको हो ।
यस्तो निरन्तर सेवा उपलब्ध हुने क्षेत्रहरूमा नगर प्रहरी बल, दमकल, एम्बुलेन्स, शव वाहन, वातावरण तथा सरसफाइ र एकद्वार पर्यटन सेवा छन् । यी सेवाहरू जनताको दैनिक सुरक्षा र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले कुनै पनि दिन बन्द नहुने गरी व्यवस्थापन मिलाइएको महानगरले जनाएको छ । महानगरपालिकाका सूचना अधिकारी देवीप्रसाद गुरागाईंका अनुसार सम्बन्धित विभाग र शाखामा कार्यरत कर्मचारीहरूलाईसमेत तोकिएको समय र बिदाको तालिका अनुसार कार्य गर्न र गराउन निर्देशन दिइएको छ ।












प्रतिक्रिया