माननीय खुस्बु ओलीद्वारा दुष्प्रचारविरुद्ध साइबर ब्यूरोमा उजुरी


काठमाडौं l सामाजिक सञ्जालमार्फत आफु बिरुद्द सुनियोजित रूपमा दुष्प्रचार र भ्रामक सूचना फैलाइएको भन्दै माननीय खुस्बु ओलीले नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी दर्ता गराएकी छन्।

ओलीले केही फेसबुक पेज, टिकटक एकाउन्ट तथा युट्युब च्यानलहरूले योजनाबद्ध रूपमा आधारहीन तथा भ्रामक सामग्री प्रसारण गरी आफ्नो व्यक्तिगत र सार्वजनिक जीवनमा क्षति पुर्‍याउने प्रयास गरेको आरोप लगाएकी छन्।

उनका अनुसार प्रारम्भिक चरणमै सम्बन्धित व्यक्तिहरूलाई सचेत गराउँदै यस्ता गतिविधि रोक्न आग्रह गरिएको थियो। तर चेतावनीलाई बेवास्ता गर्दै निरन्तर रूपमा दुष्प्रचार जारी राखिएपछि बाध्य भएर कानुनी प्रक्रिया अघि बढाइएको उनले बताइन्।

ओलीले यस्ता गतिविधिहरू अभिव्यक्ति स्वतन्त्रताको दायराभन्दा बाहिर रहेको उल्लेख गर्दै योजनाबद्ध रूपमा गलत सूचना फैलाउने र चरित्रहत्या गर्ने उद्देश्यले गरिएको संगठित प्रयास भएको दाबी गरेकी छन्।

उनले साइबर दुरुपयोग र दुष्प्रचारविरुद्ध कानुनी प्रक्रियाअनुसार आवश्यक सबै कदम निरन्तर रूपमा अघि बढाउने पनि स्पष्ट पारेकी छन्।

साथै, पछिल्लो समय घृणा फैलाएर लाभ उठाउने प्रवृत्ति बढ्दो रहेको उल्लेख गर्दै उनले यस्तो मानसिकता समाजका लागि खतरा भएको र यसलाई सामान्यीकरण गर्न नहुने बताएकी छन्।