विश्वकप लिग–२: लगातार दुई जितसँगै नेपाल पाँचौँ स्थानमा उक्लियो, तर यात्रा अझै चुनौतीपूर्ण नै


काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ । यससँगै नेपालले जारी शृंखलामा दोस्रो जित हात पार्दै अंक तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ ।

१९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ ओभर १ बलमा ४ विकेटको क्षतिमा १९९ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ७४ रनको महत्वपूर्ण पारी खेले । उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्‍याए । इशानले ६१ बलमा ५५ रन बनाए ।

ओपनर कुशल भुर्तेलले २८ र आसिफ शेखले २९ रनको योगदान दिए भने दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए । आरिफ शेख ८ रनमा अविजित रहे । स्कटल्यान्डका लागि मार्क वाटले २ विकेट र ब्रेन्डन म्याकमुलेनले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९ ओभर १ बलमा १९४ रनमा अलआउट भएको थियो । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेनले ७३ र माइकल इंग्लिसले ५१ रन बनाए । अन्य ब्याटरहरू सस्तोमै आउट भए ।

नेपालका लागि स्पिनर ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे । सन्दीप लामिछानेले यसै खेलमार्फत ७३ खेलमै १५० विकेट पूरा गर्दै ओडीआईमा सबैभन्दा छिटो १५० विकेट लिने कीर्तिमान पनि बनाए ।

यस जितसँगै नेपाल २७ खेलमा २२ अंकसहित पाँचौँ स्थानमा पुगेको छ । अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ ।