आईएमई लाइफ इन्स्योरेन्सको रेटिङ स्तरोन्नति, ‘ए माइनस’ प्राप्त


काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत साख मूल्याङ्कन (इश्युअर रेटिङ) मा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको रेटिङलाई ‘बीबीबी प्लस’ बाट स्तरोन्नति गर्दै ‘ए माइनस’ प्रदान गरेको हो।

कम्पनीका अनुसार रेटिङमा भएको यो सुधार सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन, सुशासनप्रतिको प्रतिबद्धता तथा बीमित र सरोकारवालामाझ कायम विश्वासको परिणाम हो।

‘ए माइनस’ रेटिङले कम्पनीसँग आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको तथा अघिल्लो अवस्थाको तुलनामा थप बलियो र विश्वसनीय संस्थाका रूपमा स्थापित भएको संकेत गर्ने बताइएको छ।

कम्पनी व्यवस्थापनले यो उपलब्धि ग्राहक, बीमित, लगानीकर्ता, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाको विश्वास, सहयोग र प्रतिबद्धताको प्रतिफल भएको जनाएको छ। साथै आगामी दिनमा ग्राहक सेवा, संस्थागत सुशासन, नवप्रवर्तन र दीर्घकालीन वित्तीय स्थायित्वलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

‘भविष्यको सुनिश्चितता’ भन्ने मूल नारासहित सञ्चालन हुँदै आएको आईएमई लाइफ नेपालका अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक हो। कम्पनीले जीवन बीमामार्फत व्यक्ति तथा परिवारको आर्थिक सुरक्षा, बचत र भविष्य सुनिश्चित गर्ने उद्देश्यले विभिन्न बीमा योजनाहरू सञ्चालन गर्दै आएको छ।

देशभर फैलिएको शाखा सञ्जाल, उपशाखा तथा हजारौं अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले जीवन बीमाको पहुँच विभिन्न समुदायसम्म विस्तार गरेको जनाएको छ। ग्राहक केन्द्रित सेवा, डिजिटल प्रविधिको प्रयोग, जिम्मेवार लगानी व्यवस्थापन तथा नवीन बीमा समाधानमार्फत कम्पनीले नेपाली बीमा क्षेत्रमा छुट्टै पहिचान बनाएको छ।

व्यावसायिक गतिविधिसँगै कम्पनीले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता, सामुदायिक विकास तथा सामाजिक उत्थानका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कम्पनीले ‘ए माइनस’ रेटिङलाई केवल उपलब्धि मात्र नभई अझ उत्कृष्ट सेवा, उच्च व्यावसायिक मापदण्ड र वित्तीय सुदृढताप्रति थप जिम्मेवार बन्ने प्रेरणाका रूपमा लिएको जनाएको छ। साथै आगामी दिनमा पनि बीमितहरूको भविष्य सुरक्षित गर्दै नेपालको बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।