काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आउँदा पनि नेपालमा इन्धनको मूल्य अपेक्षाअनुसार नघटाइएको भन्दै सरकार र नेपाल आयल निगमको आलोचना गरेका छन्।
उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११७.६३ अमेरिकी डलरबाट घटेर ६९.२१ डलरमा झरेको उल्लेख गर्दै यति ठूलो गिरावटको प्रत्यक्ष लाभ नेपाली उपभोक्ताले पाउनुपर्ने बताएका छन्। उनका अनुसार मूल्य घट्दा पनि उपभोक्ताले पुरानै महँगो दरमा इन्धन किन्न बाध्य हुनु दुःखद् अवस्था हो।
पौडेलले नेपाल आयल निगमले ‘कच्चा होइन, प्रशोधित तेल खरिद गर्ने भएकाले मूल्य तुरुन्तै घट्दैन’ भन्ने तर्कलाई बहानामात्र भएको बताएका छन्। कच्चा र प्रशोधित तेलको मूल्य समायोजनमा केही समय र प्रशोधन खर्चको प्रभाव रहने भए पनि कच्चा तेलको मूल्यमा आएको ठूलो गिरावटले अन्ततः प्रशोधित तेलको लागत पनि घट्ने उनको भनाइ छ।
उनले मूल्य घटिरहेको वास्तविक अवस्था सार्वजनिक नगरी पुरानै प्राविधिक तर्क प्रस्तुत गरेर उपभोक्तालाई राहत नदिनु सुशासनको अभाव, व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीको संकेत भएको बताएका छन्।
महामन्त्री पौडेलले स्वचालित मूल्य प्रणालीअनुसार नियमित रूपमा मूल्य समायोजन हुनुपर्नेमा जोड दिँदै भाउ बढ्दा तत्काल लागू हुने तर घट्दा ढिलाइ गरिने प्रवृत्तिप्रति प्रश्न उठाएका छन्। उनले घाटाको समयमा उपभोक्ताले महँगो मूल्य तिरेर साथ दिएको स्मरण गराउँदै सस्तो हुँदा पनि त्यसको लाभ उपभोक्ताले पाउनुपर्ने बताएका छन्।

















प्रतिक्रिया