काठमाडौं – नेपालमा बीमा पहुँच कुल जनसङ्ख्याको ५१ प्रतिशतमा पुगेको छ भने बीमा बजारको कोष १० खर्ब रुपैयाँभन्दा बढी पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले नेपालको बीमा क्षेत्रको वर्तमान अवस्था र प्रगतिको जानकारी दिएका हुन्।
उनका अनुसार हाल नेपालमा ३७ वटा बीमा कम्पनी सञ्चालनमा छन्। तीमध्ये १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघु बीमा र २ पुनर्बीमा कम्पनी रहेका छन्।
गएको जेठ मसान्तसम्म कुल २ खर्ब २३ अर्ब रुपैयाँ बीमा शुल्क सङ्कलन भएको छ भने ६६ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ।
कार्यकारी निर्देशक सुवेदीका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा बीमा क्षेत्रको योगदान ३.६९ प्रतिशत पुगेको छ, जुन विश्वको औसत ३.५० प्रतिशतभन्दा माथि रहेको छ।

















प्रतिक्रिया