मौद्रिक नीतिपछि पहिलो पटक बढ्यो नेप्से, ८ अर्ब ४१ करोड रुपैयाँको शेयर किनबेच


काठमाडौं – आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि पहिलो पटक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ।

मंगलबार नेप्से ६.११ अंकले बढेर २ हजार ५७६.२९ विन्दुमा पुगेको हो। लगातार चार कारोबार दिन ओरालो लागेको बजारमा आज सुधार देखिएको हो।

आज उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसूचक हरियो रहे। सबैभन्दा बढी व्यापार समूहको उपसूचक झन्डै १.५ प्रतिशतले वृद्धि भएको छ।

कारोबारमा १६४ कम्पनीको शेयर मूल्य बढ्दा १०१ कम्पनीको घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज कामना सेवा विकास बैंकको डिबेन्चर १०.२२ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्तको शेयर मूल्य करिब ८ प्रतिशतले घटेको छ।

कारोबार रकम पनि बढेको छ। ३८३ कम्पनीका १ करोड ८२ लाख कित्ता शेयर ८ अर्ब ४१ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ। यो कारोबार रकम पछिल्लो तीन महिनायताकै उच्च रहेको छ।