लगातार दोस्रो दिन बढ्यो नेप्से, परिसूचक १४ अंकले उकालो


काठमाडौं । नेपाली शेयर बजार लगातार दोस्रो कारोबार दिन पनि हरियो बनेको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ अंकले बढेर २ हजार ५९०.२९ विन्दुमा पुगेको हो।

आज म्युचुअल फन्ड र लगानी समूहबाहेक सबै उपसूचकमा वृद्धि भएको छ। विकास बैंक र निर्जीवन बीमा समूहको उपसूचक १ प्रतिशतभन्दा बढीले बढ्दै सबैभन्दा धेरै सुधार देखिएको छ।

कारोबारमा १९६ कम्पनीको शेयर मूल्य बढ्दा ५९ कम्पनीको घटेको छ भने १९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य झन्डै १३ प्रतिशतले बढेको छ। समग्र बजार उकालो लागेका दिन उपकार लघुवित्तको शेयर मूल्य भने ७.३२ प्रतिशतले घटेको छ।

यद्यपि, नेप्से बढे पनि कारोबार रकममा गिरावट आएको छ। मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३६२ कम्पनीका ८४ लाख ७३ हजार कित्ता शेयर ४ अर्ब १७ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ।