शेयर बजार घट्दा पनि लगानीकर्ताले अब गर्छन् आम्दानी, कसरी हुन्छ नाफा ?


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर बजारमा ‘शर्ट सेलिङ’ प्रणाली कार्यान्वयन गर्ने तयारी गरेको छ। यो प्रणाली लागू भएपछि बजार बढ्दा मात्र होइन, घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था हुनेछ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबार बसेको बैठकमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले ‘शर्ट सेलिङ’ प्रणाली लागू गर्ने तयारीबारे जानकारी दिएका हुन्।

उनले नेपालमा शेयर बजार सधैं उकालो लागिरहनुपर्ने भन्ने धारणा गलत रहेको उल्लेख गर्दै कुनै पनि देशको पूँजीबजार निरन्तर बढिरहन नसक्ने बताए। बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब सिर्जना हुने गरेको भन्दै उनले बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउनु रहेको स्पष्ट पारे।

अध्यक्ष भट्टका अनुसार ‘शर्ट सेलिङ’ प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। त्यसपछि शेयरको मूल्य घटेमा कम मूल्यमा पुनः खरिद गरेर फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा कमाउन सकिनेछ। बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने हालको व्यवस्थाअनुसार शेयर खरिद गरेर मूल्य बढेपछि बिक्री गरी प्रतिफल लिन सक्नेछन्।

बैठकमा अध्यक्ष भट्टले बोर्डले ‘नेपालको पूँजीबजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गरिसकेको जानकारी दिँदै त्यसको कार्यान्वयनसँगै पूँजीबजारका संरचनागत समस्या समाधान हुने विश्वास व्यक्त गरे।