काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई सम्मान गर्ने उद्देश्यले ‘आईएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ भव्य रूपमा सम्पन्न गरेको छ।
होटल याक एन्ड यतीमा शुक्रबार आयोजित कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो। कम्पनीले अभिकर्ताको सम्मान, क्षमता अभिवृद्धि, उत्प्रेरणा र व्यवसायिक हौसला बढाउने उद्देश्यले यस्ता कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको जनाएको छ।
कार्यक्रममा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल, सञ्चालकहरू तथा उच्च व्यवस्थापनको उपस्थिति रहेको थियो।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल ले स्वागत मन्तव्य दिँदै कम्पनीको उल्लेखनीय प्रगतिमा अभिकर्ताको मेहनत र प्रविधिको प्रभावकारी प्रयोग मुख्य आधार रहेको बताए। आगामी दिनमा अझ उन्नत प्रविधिमार्फत अभिकर्तालाई थप सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला आठ वर्षमा कम्पनीले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै प्रविधिमैत्री सेवा विस्तारमा आईएमई लाइफ अग्रसर रहेको बताए।
अध्यक्ष डा. रामहरि अर्यालले बीमा अभिकर्ताले केवल बिक्रीकर्ता नभई दक्ष बीमा परामर्शदाताका रूपमा आफूलाई विकास गर्नुपर्नेमा जोड दिँदै कम्पनीले उनीहरूको व्यवसायिक क्षमता विकासका लागि निरन्तर तालिम र सहयोग उपलब्ध गराउँदै जाने बताए।
त्यसैगरी प्रमुख कार्यकारी अधिकृत पवन खड्का ले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको उल्लेखनीय व्यवसायिक सफलतामा अभिकर्ताहरूको योगदान निर्णायक रहेको बताए। उनले कम्पनीले डिजिटल सेवामा थप सुधार गर्दै ग्राहक सेवा र व्यवसायिक उपलब्धिलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने, सर्वाधिक बीमालेख जारी गर्ने लगायत विभिन्न विधाका उत्कृष्ट अभिकर्तालाई अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ। अवार्ड वितरण आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, अध्यक्ष डा. रामहरि अर्याल तथा कम्पनीका सञ्चालकहरूले गरेका थिए।



















प्रतिक्रिया