१८औँ नाडा अटो–शोमा स्वदेशी उत्पादनदेखि एआई र रोबोटिक्ससम्मको प्रदर्शन


काठमाडौँ – आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा १८औँ नाडा अटो–शो आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने यसपटकको अटो–शो स्वदेशी उत्पादन, विद्युतीय सवारीसाधन, एआई प्रविधि र रोबोटिक्सको विशेष प्रदर्शनीका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ।

नाडाले स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण जयन्ती मनाइरहेको अवसरमा आयोजना हुन लागेको प्रदर्शनीमा नेपालको पाँच दशक लामो अटोमोबाइल यात्रादेखि भविष्यको मोबिलिटीसम्मलाई एउटै मञ्चमा प्रस्तुत गरिनेछ।

यसपटक ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुने अटो–शोमा पहिलोपटक ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ नामक छुट्टै प्याभिलियन निर्माण गरिने भएको छ। उक्त प्याभिलियनमा नेपालमै उत्पादन तथा एसेम्बल भएका मोटरसाइकल, स्कुटर, सवारीसाधनसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट तथा अटो स्पेयर पार्ट्स प्रदर्शन गरिनेछ।

त्यस्तै, प्रदर्शनीमा जीआई ह्युमानोइड रोबोट र जीओ–२ क्वाड्राप रोबोट समेत राखिनेछन्। अवलोकनकर्ताले अटोमोबाइल क्षेत्रमा एआई र अटोमेसनको प्रयोग तथा भविष्यको प्रविधिबारे प्रत्यक्ष अनुभव लिन सक्ने आयोजकको भनाइ छ।

अटो–शोलाई डिजिटल प्रविधिमैत्री बनाउन टिकट स्क्यान गरेपछि आफूले हेर्न चाहेको स्टल वा प्याभिलियनसम्म पुग्न जीपीआरएस प्रविधिको प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। यस्तै, कुनै पनि सवारीसाधनमा राखिएको क्युआर कोड स्क्यान गरेपछि एआई प्रविधिमार्फत उक्त सवारीसाधनको विस्तृत जानकारी अवलोकनकर्ताको ह्वाट्सएपमा प्राप्त हुने व्यवस्था गरिएको छ।

विश्व बजारसँगै नेपालमा पनि विद्युतीय सवारीसाधनको आकर्षण बढिरहेका बेला यसपटकको अटो–शोमा ईभीको विशेष दबदबा रहनेछ। विभिन्न ब्रान्डले नयाँ विद्युतीय मोडेल सार्वजनिक गर्ने तयारी गरेका छन्। साथै स्मार्ट मोबिलिटी, दिगो विकास र कनेक्टिभिटीका विषयमा विज्ञहरूको सहभागितामा सिम्पोजियमसमेत आयोजना गरिनेछ।

करिब ३ लाख वर्गफिट क्षेत्रफलमा हुने प्रदर्शनीमा सानाठूला गरी २०० भन्दा बढी स्टल रहनेछन्। त्यसमध्ये २३ वटा प्यासेन्जर कार ब्रान्ड, १७ वटा लाइट कमर्सियल भेहिकल ब्रान्ड, १३ वटा दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड, १० वटा वित्तीय संस्था तथा ७० वटा स्पेयर पार्ट्सका स्टल रहनेछन्।

यसपटक अटो–शोलाई अपाङ्गतामैत्री बनाउँदै ह्विलचियर पहुँच तथा दृष्टिविहीन नागरिकका लागि छुट्टै हेल्प डेस्कको व्यवस्था गरिएको छ। पार्किङ समस्यालाई ध्यानमा राख्दै नेपाल पुलिस क्लब, नेसनल ट्रेडिङ, सुन्धारा, सञ्चय कोष भवन, पुरानो बसपार्क र आर्मीको एसटीसी बिल्डिङलगायतका स्थानमा पार्किङको व्यवस्था गरिएको छ। ती स्थानबाट प्रदर्शनीस्थलसम्म निःशुल्क सटल बस सञ्चालन गरिनेछ।

टिकटिङ पार्टनर खल्ती एपमार्फत अग्रिम टिकट बुकिङ गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ। एचपी लुब्रिकेन्ट्सको शीर्ष प्रायोजन रहेको ६ दिने अटो–शोमा करिब २ लाख दर्शक आउने अपेक्षा गरिएको छ।

नेपालको अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रको योगदान महत्वपूर्ण रहेको नाडाको भनाइ छ। कुल भन्सार राजस्वमा करिब १८ प्रतिशत तथा समग्र राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान पुर्‍याउने यो क्षेत्रमा प्रत्यक्ष रूपमा करिब १ लाख र अप्रत्यक्ष रूपमा करिब १० लाख नागरिकले रोजगारी पाएको आयोजकले जनाएको छ।