बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै


काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिन लागेका हुन्।

नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा नेकपा एमालेबाट बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापालाई प्रदेशसभाका ६३ जना सदस्यको समर्थन रहेको छ। १०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।

विश्वासको मत लिएपछि मुख्यमन्त्री थापाले सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। यसैबीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री थापालाई विश्वासको मत दिन आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ।

नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले आइतबार पत्र जारी गर्दै भदौ ८ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।

गत भदौ ३ गते नेकपा, एमाले र राप्रपाबीचको सहमति र सहकार्यमा थापाको नेतृत्वमा बागमती सरकार गठनका लागि दाबी पेस गरिएको थियो। त्यसको भोलिपल्ट भदौ ४ गते प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले थापालाई मुख्यमन्त्री नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका थिए।