घुससहित पक्राउ परेका नापीका दुई कर्मचारीविरुद्ध मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस मागेको आरोपमा नापी कार्यालय कलङ्कीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले तत्कालीन सर्भेक्षक अमितकुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पाँडेलविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। उनीहरूले चन्द्रागिरि–९ स्थित जग्गा हालसाविक गरी प्लट मिलान गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा दुवैले सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिँदै घुसका लागि बार्गेनिङ गरेको तथा रकम कार्यालय सहयोगीमार्फत लिन सहमति जनाएको खुलेको आयोगको भनाइ छ।

आयोगले दुवैलाई भ्रष्टाचार निवारण ऐनअनुसार ५० हजार रुपैयाँ बिगो, सोही बराबर जरिवाना र कैद सजायको मागदाबी गरेको छ।