काठमाडौं – अघिल्ला दुई दिन लगातार घटेको सेयर बजार शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आश्वासनपछि २७.९४ अंकले बढेको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को वार्षिक साधारणसभामा शुक्रबार बिहान बोल्दै अर्थमन्त्री वाग्लेले सोमबारसम्म सेयर बजार सुधारका लागि कार्ययोजना सार्वजनिक गर्ने बताएका थिए । त्यसको प्रभाव बजारमा देखिएको हो ।
शुक्रबार नेप्से परिसूचक १.१० प्रतिशतले बढेर २ हजार ५५९ अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये २३७ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
सबै समूहगत सूचक सकारात्मक बनेका छन् । बैंकिङ ०.७८, विकास बैंक १.०५, फाइनान्स ०.४६, होटल तथा पर्यटन ०.९६, जलविद्युत् १.८३, लगानी १.५८, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन ०.७७, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा १.७२, अन्य ०.४२ तथा व्यापार समूह १.४० प्रतिशतले बढेका छन् ।
कम्पनीतर्फ उपकार लघुवित्तको सेयर मूल्य १०.५३ प्रतिशत, अभियान लघुवित्तको १०.०९ प्रतिशत, सिन्धु विकास बैंकको ९.५४ प्रतिशत, सर्वोत्तम पेन्ट्सको ८.०४ प्रतिशत तथा राप्ती हाइड्रोको ६.१८ प्रतिशतले बढेको छ ।
त्यस्तै मल्टिपर्पस फाइनान्सको ५.७१ प्रतिशत, इमर्जिङ नेपालको ४.२१ प्रतिशत तथा ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।
शुक्रबार धेरै कारोबार हुने कम्पनीमा लिबर्टी इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र शिवश्री हाइड्रोपावर रहेका छन् ।




















प्रतिक्रिया