लगातारको वर्षाले विद्यालय बन्द, इटहरी र विराटनगरमा दुई दिन बिदा


विराटनगर । निरन्तर वर्षा हुन थालेपछि मोरङको विराटनगर महानगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले आजदेखि विभिन्न क्षेत्रमा ठूलो वर्षा हुनसक्ने पूर्वानुमान सार्वजनिक गरेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

विराटनगर महानगरपालिकाले असोज ८ र ९ गते दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरपालिकाका महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार वर्षाको अवस्थालाई मध्यनजर गर्दै विद्यालयमा पठनपाठन स्थगित गरिएको हो।

यसैगरी, इटहरी उपमहानगरपालिकाले पनि दुई दिन विद्यालयमा बिदा दिने निर्णय गरेको छ। गएरातिदेखि निरन्तर पानी पर्न थालेपछि विद्यार्थीको सुरक्षा र सम्भावित जोखिमलाई ध्यानमा राखेर विद्यालय बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ।

कोशी प्रदेशका अधिकांश जिल्लामा गएरातिदेखि वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण हुनसक्ने बाढी, डुबान तथा अन्य जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहले आवश्यक सतर्कता अपनाउन थालेका छन्।