भन्सारका हाकिमले एसपीलाई धम्की दिँदै गृहमन्त्री र आईजीपीलाई स्वाट्टै हान्छु भनेर के भन्न खोजेको ?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणमा तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसँग धम्कीपूर्ण भाषामा कुरा गरेको भनिएको अडियो सार्वजनिक भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

संग्रौलाका अनुसार उक्त अडियोमा विभागीय महानिर्देशक, सशस्त्र प्रहरी महानिरीक्षक र गृहमन्त्रीलाई समेत ‘स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्ति प्रयोग भएको भनिएको छ। उनले उक्त अभिव्यक्तिको आशयसमेत छानबिन हुनुपर्ने बताइन्।

सीमा क्षेत्रमा राजस्व चुहावट नियन्त्रणमा खटिएका सुरक्षा अधिकारीलाई भन्सार अधिकृतबाटै धम्कीपूर्ण भाषा प्रयोग भएको पुष्टि भए सम्बन्धित कर्मचारीमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने उनको माग छ।

संग्रौलाले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाही गर्न तथा सीमा क्षेत्रमा सुरक्षा निकाय र राजस्व प्रशासनबीच उचित समन्वय र मर्यादित वातावरण कायम गर्न सरकारसँग आग्रह गरिन्।