काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा हुने सरुवा–बढुवामा भनसुन र व्यक्तिगत दबाब अन्त्य गर्न स्वायत्त सरुवा बोर्ड गठन गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै आचार्यले राजनीतिमा आएपछि आफूले सबैभन्दा बढी दबाब सरुवा र बढुवाकै विषयमा झेल्नुपरेको बताए। सुशासन र पारदर्शिताको कुरा गर्नेहरू नै व्यक्तिगत स्वार्थका लागि सरुवा–बढुवामा भनसुन गर्न आउने गरेको उनको भनाइ थियो।
‘राजनीतिमा आएपछि मैले सबैभन्दा बढी झेलेको समस्या नै सरुवा र बढुवाको हो,’ उनले भने, ‘सुशासनको कुरा गर्नेहरूसमेत मेरो घरमा नातावाद र कृपावाद खोज्दै आउनुहुन्छ।’
आफूले विधि र पद्धतिभन्दा बाहिर गएर यस्ता आग्रह सम्बोधन गर्न नसक्ने उनले स्पष्ट पारे। रास्वपाको वाचापत्रमा स्वायत्त सरुवा बोर्ड गठन गर्ने प्रतिबद्धता रहेको स्मरण गराउँदै आचार्यले निश्चित विधि र पूर्वानुमानका आधारमा सरुवा–बढुवा हुने व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरे।
‘हाम्रो वाचापत्रको बुँदा नम्बर ८ मा स्वायत्त सरुवा बोर्ड गठन गर्ने उल्लेख छ,’ उनले भने, ‘सरकारले यो बोर्ड जतिसक्दो चाँडो गठन गर्नुपर्छ।’
आचार्यले व्यंग्यात्मक शैलीमा सरुवा–बढुवामा हुने दबाबको प्रसंग उठाउँदै यस्तो व्यवस्था नभए आगामी दसैँमा आफ्नै इष्टमित्रबाट टीका र आशीर्वादभन्दा काम नभएको भन्दै गुनासो र सराप पो पाइने हो कि भन्ने अवस्था आउन सक्ने बताए।



















प्रतिक्रिया